चितवन। बरिष्ठ फिजिसियन डा।भोजराज अधिकारीले खोप भ्याक्सिन नलगाएको समुदायमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढी खतरा हुने बताउनु भएको छ । अहिलेसम्मको अध्यनले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना र गम्भीर समस्या हुने चाहिँ एकदम कम देखिएको भए पनि खोप नलगाएको समुदायमा भने बढी खतरा रहेको उहाँले बताउनुभएको हो ।
डा। अधिकारीले भन्नुभयो “यो समुदायमा छिटोछिटो फैलिएको छ ।” २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उहाँले भन्नुभयो “कुनै पनि भाइरसमा स्वरुप परिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जान सक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्छ । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभै स्थिर पान्डेमिकको रुपमा बदलिईरहेर दुख दिइरहन सक्ने देखिन्छ ।”
ओमिक्रोम सबैभन्दा धेरै म्युटेसन भएर देखिएकोले यसको सर्ने तरिका, गम्भिरता र भ्याक्सिनको प्रभाब फरक हुनसक्ने देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिलेसम्मको तथ्यांकले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अङ्ग नाक र स्वासनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ । यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर धेरै जनालाइ एकैचोटी संक्रमित गर्नसक्ने देखिएको छ ।” खोपले समेत कम सुरक्षा दिन सक्ने भन्दै उहाँले अगाडि थप्नुभयो “खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकोले खोपले कम सुरक्षा दिन सक्ने खतरा देखिन्छ ।” पहिलेको भेरिएन्टभन्दा सर्ने अबधी औसत तीन दिन दिन देखिएको बताउँदै उहाँले भन्नुभयो “यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो ।”
ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान बेसरी दुख्ने, थाक्ने र राती पसिना आउने जस्ता लक्षण यो भेरियन्टमा देखिएको बताउँदै डा। अधिकारीले भन्नुभयो “मौसमी फ्लू जस्तो मानेर मानिसहरु परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सार्न सक्छन ।” अहिलेसम्मको अध्यनले अस्पताल भर्ना र गम्भीर समस्या हुने चाहिँ एकदम कम देखिएको उहाँको भनाई छ । शरीरको प्रतिरोध क्षमता र दीर्घ असर पोष्ट कोभिड बारे नतिजा आईनसकेको उहाँको जानकारी दिनुभयो ।
कान्तिपुर हेल्थबाट