चितवन । चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नी सम्बन्धि अध्ययन र अध्यापनका लागि लक्षित गरी लेखिएको पुस्तक सोमबार भरतपुरमा विमोचन गरिएको छ। वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्राध्यापक सुरेश पाण्डेद्वारा लिखित “Text Book Of Orthopaedics ” टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक विमोचन गरिएको हो।

कार्यक्रममा आर्थ्रोस्कोपिक सोसाइटी अफ नेपालका केन्द्रिय अध्यक्ष डा सुदिप मान बैद्य, नेपाल अर्थोपेडिक एशोसियसन चितवन शाखाका संस्थापक अध्यक्ष प्राडा आनन्द प्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ चितवन शाखा उपाध्यक्ष प्रकाशमणि ज्ञवाली , वरिष्ठ क्यान्सर सर्जन प्राडा भक्तमान श्रेष्ठ, वरिष्ठ मृगौला रोग विशेषज्ञ प्राडा माधव घिमिरे, डा प्रमोद लामिछाने, डा गोपेन्द्र देव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। लेखकका अनुसार यो टेक्स्ट बुक नेपाली चिकित्सकले नै लेखिएको यस खाले पहिलो पुस्तक भनिएको छ।

यस टेक्स बुकले एमबिबिएस तथा अर्थोपेडिक सर्जरीमा अध्ययनरत विद्यार्थीका अध्ययन साथै अध्यापन दुबै कार्यका लागि निकै प्रभावकारी हुनेमा कार्यक्रममा उपस्थिति विभिन्न विधाका चिकित्सकहरुको भनाइ थियो । करिब ६ वर्षको निरन्तर प्रयास पछि मात्र पुस्तक प्रकाशनमा ल्याउन सफल भएको लेखक प्राडा पाण्डेले जानकारी दिनुभयो।

लेखक प्राध्यापक पाण्डे राजधानी बाहिर चितवनलाई आफ्नो कर्मथलो बनाई करिब १५ वर्ष देखि अध्यापन र बिरामीको सेवामा तल्लीन हुनुहुन्छ।उहाँ हाल चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेज भरतपुरको अर्थोपेडिक विभागमा कार्यरत हुनुहुन्छ। त्यस्तै नेपाल अर्थोपेडिक एशोसियसन चितवन शाखाको अध्यक्ष समेत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया