×

सालिकराम कोइराला

रूद्रपुरगढी,नवलपुर  । दुईवर्ष अघि तामझामकासाथ घोषणा गरिएको लालीगुराँस संरक्षित क्षेत्रमा अहिले दुई बिस गुराँसका बिरूवा समेत छैनन् । परार साल नवलपुरको ऐतिहासिक रूद्रपुरगढी परिसरमा पाँचहजार पाँचसय गुराँसका विरूवा रोपिएको थियो ।मन्त्रीले घोषणा गरेको संरक्षण क्षेत्र अहिले भताभुङ्ग अबस्थामा पुगेको छ ।

हुप्सेकोट गाउँपालिका-५ धौवादीको रूद्रपुरगढीमा ७६ भदौमा तालिन संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गुराँसको विरूवा रोपी लालीगुराँस संरक्षित क्षेत्र घोषणागर्दै कार्यक्रमको शिला अनावरण गरेका थिए। “बोड ट ले बाँकी पोटेसरा माले ”  (बोर्ड त छ तर लालीगुराँस छैन) स्थानीय गम बहादुर सिंजालीले भने ।

रूद्रपुरगढी नवलपुरको ऐतिहासिक स्थल हो।समुन्द्री सतहबाट करिब दुईहजार पाँचयस मिटरको उचाईमा रहेको यो गढीमा तात्कालिन पाल्पाली राजा रूद्रसेनको दरबारको भग्नावशेष समेत रहेको छ । हावापानीको हिसावले गुराँसलाई उपयुक्त रहेको र यो क्षेत्रको ऐतिहासिकतालाई चिरस्थायी राख्न लालीगुराँसका विरूवा रोपेर संरक्षित क्षेत्र घोषणा गरिएको थियो।

दामनमा पाईने सात प्रजातिका गुराँसमध्ये रातो गुराँसको विरूवा ल्याई यस क्षेत्रमा धुमधामकासाथ रोपिएको थियो । हुप्सेकोट गाउँपालिकाको लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मीका अनुसार लालीगुराँस संरक्षित क्षेत्र घोषणा कार्यक्रममा सोह्र लाख रूपैयाँ खर्च भएको थियो ।तर हाल सो कार्यक्रमले हुप्सेकोटबासीलाई गिज्याईरहेको छ ।

त्यसो त हुप्सेकोटमा सरकारी तवरबाट घोषणा गरिएको संरक्षण क्षेत्र मात्र हैन जनस्तरबाट घोषणा गरेर कार्यान्वयन गरेको भनिएको संरक्षण क्षेत्रको पनि बेहाल छ । केहि वर्ष अघि यहाँ जनस्तरबाट घोरल संरक्षण क्षेत्र घोषणा गरेर राम-रमिता मच्चाईयो,अहिले न घोरल छ नत दाताले दिएको रकम सदुपयोग भएको छ ।

रूद्रपुरगढी ऐतिहासिक स्थल हो । यसमा कसैको दुईमत छैन । यसको ऐतिहासिक-विरासत जोगाउन लालीगुराँसले रंगीन भूमिका निभाउँछनै । बरू गढीको संरक्षण र यहाँ बनेका नेपाल टेलिकमको संरचना अन्यत्र स्थानान्तरण गरे यसको इतिहासलाई जीवितै राख्न बल पुग्ने थियो ।

तपाईको प्रतिक्रिया