×

भरतपुर । कोरोना भाईरस  परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेज सँग १८ लाख रुपैयाँ धरौटी लिईएको छ । अस्पताल आएका बिरामीको कोरोना परीक्षण गर्दा बढी शुल्क असुलेपछि मुद्दा चलाएर धरौटी लिइएको हो ।

नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क असुल गरेको उक्त अस्पतालसँगै काठमाण्डौँको स्टार अस्पतालसँग पनि पाँच लाख रुपैयाँ धरौटी मागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताउनुभयो । यी दुई अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा। सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको स्वाबको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क दुई हजार रुपैयाँ तोकेकोमा ती अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो । ती दुई अस्पताल विरुद्ध यही चैत ४ गते मुद्दा पेश भएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेको आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारबाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही शुरु गरिएको छ । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षको लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया