×

चितवन ।  चितवनको सौराहास्थित आधा दर्जनभन्दा बढी होटल बिक्री हुने भएका छन्। सौराहाका पार्कल्याण्ड, सेभेन स्टार, चितवन रिभरसाइड, जंगल वर्ल्ड लगायतका ठूला होटल बिक्रीमा रहेको पाइएको छ।

बैंकको ऋण सकार्ने अवस्था नहुँदा बाध्यताले यी होटल बिक्री गर्नुपर्ने अवस्था आएको व्यवसायीहरुले बताएका छन् ।कोभिड-१९ ले व्यवसायमा पुगेको क्षति पुनरुत्थानका लागि आर्थिक राहतमा सरकारको बेवास्ताका कारण यतिखेर होटल बिक्री गर्नुपर्ने अवस्थामा पुगेको होटल संचालकहरुको भनाइ छ ।

अब विजनेश स्विच गर्नुबाहेकको विकल्प छैन। पूर्वघोषित भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सौराहामा चार लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ बैंकबाट अरबौँ ऋण लिएर व्यवसायीले होटलको क्षमता विस्तार गरेका थिए, क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले भने, तर यतिखेर यो उद्योग धरासायी हुँदा सरकारको कुनै वास्ता छैन। रहरले भन्दा पनि कहरका कारण गर्दै आएको व्यवसायबाट हात झिक्ने अवस्था आएको छ।

बैंकबाट कर्जा लिएर क्षमता विस्तार गरेको एउटा होटल हो ुजंगल वर्ल्ड रिसोर्टु । सौरहास्थित तीनतारेस्तरको यस होटलले भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर क्षमता विस्तारका लागि लिएको बैंकको १६ करोड कर्जा तिर्न नसक्ने भएपछि अहिले बिक्रीमा राखिएको छ।

बैंकले तारन्तार ऋण तिर्नका लागि दबाब दिएसँगै होटल बिक्री गर्ने निर्णय लिएको यसका संचालक टोपराज खतिवडाले बताए। २०४८ सालमा खुलेको यस होटलको संचालन स्वामित्व आठ वर्षअघि खतिवडाले लिएका थिए।

२२ कठ्ठामा निर्मित ४४ कोठा भएको होटलमा सेमिनार हल, स्विमीङ पुल लगायत सबै सुविधा छन् तर विदेशी पाहुना नभएका कारण यतिखेर होटल संचालनमा ल्याउन सक्ने अवस्था भने नरहेको उनले बताए ।

करिब एक वर्ष व्यवसाय शून्यमै बित्यो। अब अझै एक वर्ष व्यवसायले गति लिने सम्भावना छैन। हामी टिकेको भनेकै विदेशी पर्यटक आगमनले थियो,खतिवडा भन्छन्, बैंकले ऋण तिर्नका लागि ताकेता गरेकोगर्यै छ। सरकारले यसमा केही समयावधि थप्न निर्देशन दिएपनि बैंकबाट सार्वजनिक सूचना जारी गरिदिने धम्की आइरहेको छ।

सरकारको राहतको पर्खाइमा बसेको होटल सेभेन स्टारले पनि एक्लै व्यवसाय संचालन गर्नसक्ने अवस्था नरहेपछि सेयर स्वामित्व बिक्री गरेर नयाँ साझेदार भित्र्याउने प्रयास थालेको छ । सरकारले मौद्रिक नीतिमा घोषणा गरेअनुसारको राहत प्याकेज र पुनर्कर्जाको व्यवस्था कार्यान्वयनमा नआएपछि नयाँ साझेदारी भित्र्याउन लागेको होटल सेभेन स्टारले जनाएको छ।

५१ कठ्ठामा रहेको दुईतारे स्तरको यो होटलमा पछिल्लो समय सभा-समारोह मात्र आयोजना हुँदै आएकाले यसलाई धान्न गाह्रो हुन थालेको संचालक माधव दुवाडीको भनाइ छ । विदेशी पर्यटक छैनन्। आन्तरिक पर्यटकको फेमिली भिजिट निकै कम छ, उनी भन्छन्, यो अवस्थामा सरकारले यसरी नै बेवास्ता गरेर व्यवसायीलाई निरुत्साहित गर्ने काम गरिरहे वर्षौंदेखि होटल क्षेत्रमा आवद्ध व्यवसायीहरु पलायन हुने दिन आउनेछ।

राज्यले भ्रमण वर्ष आयोजना गर्ने निर्णय गर्दा त्यसलाई सफल पार्न व्यवसायीले ऋण लिएरै भएपनि क्षमता विस्तार गरेको भएपनि अहिले व्यवसायी समस्यामा पर्दा राज्य मौन रहेको व्यवसायीहरुको गुनासो छ।

रिभर साइड रिसोर्टका संचालक गंगा गिरी पनि सरकारले पुनर्स्थापनाका लागि आवश्यक राहतमा उपेक्षा गरिरहेको अहिलेको अवस्थामा व्यवसायबाट विस्थापन हुनुबाहेकको विकल्प नरहेको बताउँछन् । पाँच वर्षअघि रिसोर्ट खरिद गरेर संचालन गर्दै आएका गिरीले भ्रमण वर्ष घोषणा गरेसँगै बैंकका साथै व्यक्तिगत ऋण समेत लिएर रिसोर्टको क्षमता विस्तार गरेका थिए ।

तर अब रिसोर्ट नबेची बैंकले ताकेता गरेअनुसार अहिले ऋण तिर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । भन्छन्, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिअनुसार पुनर्कर्जा व्यवस्था कार्यन्वयनमा नआएकाले अब रिसोर्ट संचालन गर्नै नसकिने भएको छ। ३६ वर्षदेखि अंगालेको व्यवसायबाट विस्थापन हुनुपर्ने अवस्था आउँदा आफैंलाई दुःख लागेको छ।

यतिखेर सौराहामा होटल संघ नेपालको सदस्यता लिएका एक सय २० वटा र संघमा आवद्ध नभएका ३० वटा गरी कुल एक सय ५० होटल तथा रिसोर्ट संचालनमा छन्। यीमध्ये होटल संघसँग आवद्ध अधिकांश होटल बिक्री र नयाँ साझेदार भित्र्याउने तयारीमा रहेको एक स्थानीय होटल व्यवसायीले बताए। उनका अनुसार, चितवनका होटल व्यवासायीहरु कसैले पनि आफ्नो पीडा बाहिर देखाउन चाहेका छैनन् तर भित्रभित्रै अधिकांश होटल र रिसोर्टहरु बिक्री गर्ने सोचका साथ अगाडि बढिसकेका छन्। कोही नयाँ साझेदार ल्याउने तयारीमा छन् ।

खरिद गर्न खोज्नेले होटल संचालन गरिरहेकालाई अफ्ठ्यारो परेको मौका छोपेर गुन्द्रुकको भाउ लगाउन थालिसकेका छन्। दिउँ त आफ्नै बढी लगानी परेको छ, नदिउँ त बैंकको कालोसूचीमा पर्ने डर छ, ती व्यवसायीले चितवन होटल व्यवसायीको अफ्ठ्यारो जाहेर गरे ।

बिजमाण्डूबाट

तपाईको प्रतिक्रिया