×

चितवन । घाम अस्ताउँदै गरेको गोधूली साँझमा नवलपरासी गैंडाकोटको एक होटल अगाडि पेटीमा तुलबहादुर घर्ती ‘मुनाल’ भेटिए । टाउकोमा पूर्वमाओवादीको जनमुक्ति सेनाले लगाउने टोपी, चिउँडोमा मास्क, प्याजी रंगको कपडा, च्यातिएको भक्कु चप्पल लगाएको अवस्थामा भेटिएका उनले आफू पूर्वमाओवादी लडाकू रहेको बताए ।

उनको दायाँ हात काँपिरहेको थियो । हिँड्न खुट्टाको भर थिएन । पक्षघातले बोली लरबराएको र नबुझिने थियो । चितवनको भरतपुर अस्पतालमा उपचारपछि श्रीमतीसहित घर फिर्ने तयारीमा रहेका मुनाल रात कटाउन होटलमा बसेका थिए ।

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जिवाङखारा घर बताउने ५९ वर्षीय मुनाल विगत दुई वर्षदेखि पक्षघातका कारणले उठ्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । यसअघि काठमाडौं र नेपालगञ्जमा उपचार गराएका उनी पछिल्लोपटक उपचारका लागि भन्दै पत्रकार रविन्द्र पुन मगरको साथ लागेर मंसिर १० गते चितवनको भरतपुर अस्पताल आएका हुन् ।

पत्रकार मगरले स्करपियो रिजर्भ गरी ल्याएका मुनाललाई विप्लवका छोरा डा. प्रकाश चन्दसँगको सम्पर्कमा उपचार गरियो । डा. चन्द र अस्पतालका न्यूरो सर्जन डा. गुणराज पौडेलले उनको जाँच गरे ।

डा. चन्दका अनुसार उनलाई ‘इस्केमिक स्ट्रक’ अर्थात् नशा सुकेर पक्षघात भएको छ । डा. पौडेलले मुनालको रगतको नशा ब्लक भएर रगत मस्तिष्कमा पास नभएर पक्षघात भएको बताए । फिजियोथेरापी र औषधीबाट कम हुनसक्छ तर, पूरै निको हुन गाह्रो छ’ डा. पौडेलले भने ।

विप्लव पुत्र डा. चन्दको पहलमा उनलाई तीन महिनाका लागि पुग्ने औषधी जुटाएर पठाइएको छ । ‘हामीले सरकारी अस्पतालमा नै भनेर औषधी र उपचारको जोहो गर्यौं, तीन महिनापछि फेरि औषधी पठाउँछौं,’ डा. चन्दले भने, ‘जनयुद्धमा हेडक्वाटरका नेताहरूको रक्षा गर्ने यस्ता कयौं लडाकुहरुको बेहाल भएको छ, उहाँहरुलाई सत्तामा पुग्ने भर्याङ बनाएर छाडिएको छ, जीवनरक्षा कसले गर्ने ?’

लडाकुको कम्पनी कमाण्डर भएर अनिवार्य अवकास लिएका मुनाल तत्कालीन माओवादीको चर्चित चुनवाङ बैठकमा नेताहरुको सुरक्षाको पहिलो घेरामा बसेर खटेको बताउँछन् ।

उनीसँग विगतका स्मृतिहरू अझै पनि ताजै छन् । तत्कालीन लडाकुले लगाउने अगाडि तारा भएको टोपी कहिल्यै पनि शीरमा छुट्दैन । श्रीमती रमिती घर्ती भन्छिन्, ‘जहाँ जाँदा पनि लगाउनुहुन्छ, घरमा जतन गर्नुहुन्छ ।’

उनीसँग यस्ता दुईवटा टोपी बाँकी छन् । थोत्रा एक जोडी कम्ब्याट ड्रेस पनि छन् । अझै पनि लडाकुले लगाउने टोपी किन लगाउनुभएको भन्ने प्रश्नमा मुनालले भने, ‘विगतलाई भुल्न सक्दिनँ, ज्यानको बाजी लगाउँदै रगत र पसिना बगाएको छु ।’

मुनाल तत्कालीन सशस्त्र युद्धको फौजी कमाण्डर सहिद विजय घलेका दाइ पर्छन् । लडाकू कमाण्डरका रुपमा विभिन्न १४ ठाउँमा पुगेर प्रत्यक्ष लडाइँमा पनि सहभागी भएको उनले बताए । पूर्वमन्त्री लोकेन्द्र विष्टसँगै हिरासतमा पनि बसेको उनको भनाइ छ । ७६ दिन गिरफ्तारीमा परेर चरम यातनासमेत झेलेको बताउने उनका तिघ्रामा अहिले पनि निको भएका घाउका खतहरु छन् । डोल्पाको दुनै आक्रमणका क्रममा उनी घाइते भएको बताउँछन् ।

यसअघि केही साथीभाइको सहयोग र छोरीले दिएको पैसाले नेपालगञ्ज र काठमाडौंमा उपचार गराएका मुनालले पैसा अभाव हुन थालेपछि औषधी खान नसकेपछि रोग झनै बल्झिँदै गएको र अहिले अवस्था दयनीय भएको श्रीमतीले बताइन् । उनले भनिन्, ‘घरमा खाने अन्न छैन, औषधी कहाँबाट किनेर खाने ?’

मुनालले जनमुक्ति सेनाको पाँचौं डिभिजन कार्यालय दहवनबाट अवकास लिँदा ६ लाख रुपैयाँ पाएका थिए । सो पैसा १० वर्षसम्म माओवादी युद्धमा हिँड्दा लथालिङ भएको सानो घरलाई मर्मत गरे । केही ऋण थियो, त्यो तिरे । त्यसपछि सामान्य खेती किसानी गर्दागर्दै बिरामी परे । उनका दुई छोरा र दुई छोरी छन् ।

जेठी श्रीमतीको मृत्यु भएपछि शिविरमा बसेका बेला मुनालले रमितीलाई कान्छी बनाएका हुन् । आज उनको सहारा यिनै रमिती र बैशाखी मात्र छन् ।अनलाईन खबरवाट साभार गरिएको

तपाईको प्रतिक्रिया