×

चितवन । कोरोना भाईरस कोभिड –१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको छ ।  नेपाल पत्रकार महासंघ चितवन शाखाले आज बिहीबार भरतपुरमा आयोजना गरेको ‘कोरोनाले मिडिया क्षेत्रमा पारेको प्रभाव” बिषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कोरोना कहरले सम्पूर्ण क्षेत्रमा प्रभाव पारेको बताउँदै त्यसबाट पत्रकारहरु पनि अछुतो नरहेको बताएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार, पत्रकार महासंघ, मिडिया सञ्चालक मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष आचार्यले समस्या आएपछि मिडिया सञ्चालकहरुले पत्रकारहरुलाई बेतलवी विदामा राख्ने गरेको भन्दै भन्नुभयो “मिडियामा समस्या छ, सञ्चालकहरुले सहज अवस्थामा नाफा खाने र असहज परिस्थितिमा पत्रकारलाई पाखा लगाउने गर्न मिल्दैन ।” अग्रभागमा रहेर काम गर्नुपर्ने पत्रकारले आफै स्वास्थ्य सुरक्षाको साधन किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।

श्रमजीवि पत्रकारहरुको हक हितका लागि महासंघले सम्झौताहिन ढङ्गले काम गर्ने बताउँदै उहाँले भन्नुभयो “श्रमजीवि पत्रकारको पक्षमा कुनै सम्झौता हुन सक्दैन ।” पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुनहरु कार्यान्वयनमा आउन नसक्दा कोरोना कहरको समयमा पत्रकारिता क्षेत्रमा समस्या आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “कानुनको अभावमा समस्या भएको होइन, कानुनमा भएका कुरा कार्यान्वयनमा आउन नसक्दा अहिले समस्या आएको हो ।” समानुपातिक बिज्ञापन प्रणाली, पत्रकार कल्याणकारी कोषमा बिज्ञापनको १० प्रतिशत रकम राख्ने, लेखन क्षमता अभिबृद्धि गर्ने लगायतका कार्यक्रमलाई नियमित गर्ने गरी छलफल भईरहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

लोकतन्त्रमा मिडिया वन्द हुनु जनताको आवाज बन्द हुनु भएको भन्दै उहाँले स्थानीय तहले पनि स्थानीय मिडियाहरुलाई अहिले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले शिक्षा र चेतनामूलक सन्देश मिडियाबाट प्रकाशन, प्रसारण गरेर आर्थिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा मिडिया क्षेत्र अझै व्यवसायिक बन्न नसकेकोे भन्दै उहाँले अब मिडियाले व्यवसायिक वा स्वरोजगार के भन्ने कुरा स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा उहाँले देशभरमा ४ सय १० जना पत्रकारलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । ती मध्ये ४ जनाको मृत्यु भई सकेको र ८० जना उपचारका क्रममा रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा १० जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । जिल्लामा २१ वटा अनलाईन, चारवटा टेलिभिजन, २३ वटा एफएम रेडियो, ६ वटा दैनिक पत्रिका र १६ वटा साप्ताहिक पत्रिका सञ्चालनमा रहेको जानकारी दिंदै अध्यक्ष खतिवडाले लकडाउनको समयमा समस्या समाधानका लागि स्थानीयतहसँग समन्वय गरेर केही मात्रामा भए पनि सूचना उपलब्ध गराईएको बताउनुभयो ।

लकडाउनको समयमा ३७ जना पत्रकारलाई महासंघले प्रत्यक्ष राहत वितरण गरेको जानकारी दिंदै अध्यक्ष खतिवडाले भन्नुभयो “महासंघले माक्स, सेनिटाईजर, औषधि वितरण गरेको छ । आवश्यकता अनुसार अस्पतालहरुमा समन्वय गरेर संक्रमितको उपचारमा लागिपरेको छ ।” महासंघ सधैं पत्रकारको पक्षमा रहेको बताउँदै उहाँले आवश्यकता र औचित्यका आधारमा सहयोग जारी राखिने प्रतिद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया